नेपाली साहित्यमा साहित्यकार शिवकुमार राईको योगदान/ साहित्यकार शिवकुमार राई/Nepali Writer Shiva Kumar Rai
१. भूमिका
मान्छेले जब निर्दिष्ट संकेतचिन्हहरूको माध्यमबाट आफ्ना मनका भाव अभिव्यक्त गर्न जाने तबदेखि नै साहित्यको सिर्जना भएको हो। मान्छे जातिको चैंसट्ठीवटा कलाहरूमध्ये साहित्य पनि एउटा हो। साहित्यले मान्छेलाई नौवटा रसलाई अनुभूत गराउँछ र उसको मनमा चलिरहेको आलोडन-विलोडनलाई शान्त तुल्याएर केही क्षणको लागि भए पनि आनन्द प्रदान गर्छ। साहित्य जमानानुसार केही आंशिक रूपमा परिवर्तन हुँदै गए पनि यसको मौलिक उद्देश्य भने एकै रहन्छ। अभिव्यक्त भएर अथवा पढ़िएर मान्छेको मनलाई शान्त तुल्याउनु साहित्यको मनोवैज्ञानिक उद्देश्य हो भने समाजसुधार र जातीय उत्थानलाई निरन्तरता दिनु वा त समाजका राम्रा नराम्रा कुरालाई अभिलेख गर्नु साहित्यको उद्देश्य हुनसक्छ।
नेपाली साहित्यको पनि आफ्नै मौलिक परम्परा भव्य रहेको छ। नेपाली साहित्य भन्नाले नेपाली /गोर्खा भाषीहरूले नेपाली भाषामा लेखेका साहित्य बुझिन्छ। नेपाली साहित्यको निर्माणमा दार्जीलिङ, भाग्सु, देहरादुन, असम, नेपाल राष्ट्र एवम् विश्वका विभिन्न नेपालीबहुलप्रान्तका गोर्खा/नेपाली जातिका लेखकहरूको ठूलो योगदान रहेको छ। साहित्यअन्तर्गत् विभिन्न विधाहरू आउँछन्। नेपाली साहित्यमा पनि उस्तै विविध विधाहरू छन्। जसअन्तर्गत् आउँछन् - उपन्यास, उपन्यासिका, कथा, महाकाव्य, खण्डकाव्य, चम्पू काव्य, गीति खण्ड काव्य, लघुकथा, मुक्तक, तीहक, गीत-गजल आदि। साहित्य संरचनाको हिसाबले एक दुई लहरदेखि ठूलो ठेलीसम्म हुनसक्छ। एकदुई लहरको कविता संरचनाको साहित्य हो भने वृहत् ग्रन्थ-आकारको संरचना उपन्यास - महाकाव्यहरू हुन्। गीत र गजल जस्तो साहित्यिक विधालाई सङ्गीत भरेर गाउन र सुन्न सकिन्छ। कथा उपन्यासहरूलाई आख्यान भनिन्छ। यो गद्य शैलीमा लेखिन्छ। कविता महाकाव्य आदिचाहिँ पद्य शैलीमा लेखिन्छन् । कविता संरचनाका साहित्य लेख्ने सर्जकलाई कवि भनिन्छ।
हाम्रो नेपाली साहित्यमा कविताको जस्तै कथा वा उपन्यासको पनि वृहत् र सुन्दर परम्परा छ। अन्य साहित्यिक विधाको तुलनामा दार्जीलिङ भेकबाट इतिहासमा कथा र उपन्यास धेरै गरी लेखिएका थाह लाग्छ। दार्जीलिङ भेकका कथाकार/उपन्यासकारहरूको नाम लिइन पर्दा धेरैजना नै आउँछन्। जस्तै रूपनारायण सिन्हा, इन्द्र सुन्दास, इन्द्रबहादुर राई, एमएम गुरूङ, अरू धेरैजना छन्। यस्तै एउटा विशिष्ट आख्यानकारको नाम हो शिवकुमार राई।
२. विषय प्रवेश :
शिवकुमार राई नेपाली साहित्य जगतका एकजना अत्यन्तै लोकप्रिय साहित्यकार हुन्।
२.१ साहित्यकार शिवकुमार राईको परिचय :
साहित्यकार शिवकुमार राइको जन्म २६ अप्रेल १९१९ - शनिबारको दिन पूर्व सिक्किमको पाक्योङ महकुमाअन्तर्गत् रिनाक गाउँमा भएको थियो। तिब्बतको ग्यात्सेमा केही समयसम्म बुनियादी शिक्षा र कलकत्ता विश्वविद्यालयबाट बी.ए. तह अध्ययन गर्ने साहित्यकार राईले दार्जीलिङको खरसाङमा स्थायीरूपमा बसोबासो गरे। उनी एकजना राजनीतिसित संलग्न व्यक्तित्व पनि हुन्। राजनेता डम्बरसिंह गुरूङको नेतृत्वमा रहेको गोर्खालीग नामक राजनैतिक दलमा उनी संलग्न थिए। यसै कालमा पनि श्रममन्त्रीसम्म हुनपुगेका थिए। आकाशवाणी खरसाङमा कार्यक्रम निष्पादकको पदमा सेवारत् रहँदा साहित्यकार राईले आफ्नो प्रतिभाको अन्यतम् नमूना प्रस्तुत् गरे। उनका अधिकांश कथाहरू श्रुति नाटकको रूपमा तयार र प्रसारण भए। साहित्यकार शिवकुमार राईको नाम पत्रकारिताको इतिहासमा पनि सम्मानपूर्वक लिइने गरिन्छ। उनले आकाशवाणी खरसाङबाट अवकाशग्रहण गरेपछि नेपाली समाचार पत्र -‘हिमालचुली’को सम्पादन गरे। साहित्यकार शिवकुमार राईको निधन २२ जुलाई १९९५ -शनिबारको दिन खरसाङमा भयो।
२.२ साहित्यकार शिवकुमार राईको साहित्यिक यात्रा :
साहित्यकार शिवकुमार राईको पहिलो कथा सन् १९४४ मा त्यतिबेलाको अत्यन्तै लोकप्रिय साहित्यिक पत्रिका ‘शारदा’ -मा छापिएको थियो। त्यसपछि उनका कथाहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भए। ती पत्रिकाहरू थिए: महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्पादनमा निस्कने पत्रिका - ‘युगवाणी’, साहित्यकार हृदयचन्द्रसिंह प्रधानको सम्पादनमा निस्कने ‘साहित्यश्रोत’, तथा साहित्य-शिक्षाविद् पारसमणि प्रधानको सम्पादनमा निस्कने ‘भारती’ पत्रिका आदि।
२.३ साहित्यकार शिवकुमार राईका साहित्यिक कृति :
साहित्यकार शिवकुमार मूलतः कथाकार अनि उपन्यासकार हुन्। उनका कथा सङ्ग्रहहरू हुन् - ‘फ्रण्टियर’ (सन् १९५१), ‘यात्री’ (सन् १९५६), ‘खहरे’ (सन् १९७६), र ‘बड़ा डिनर’ (सन् १९८८) ‘शिवकुमार राईका सात कथा’ (सन् १९४४),। यसबाहेक साहित्यकार राईकृत् एउटा उपन्यास ‘डाक बंगला’(वि.सं. २॰१४) अनि एउटा गीतिकाव्य ‘डाँफे चरी’ (वि.सं. २॰११) - मा प्रकाशित छन् भने ‘शिवकुमार राईका असङ्कलित रचनाहरू’ (कथा सङ्ग्रह) नामक पुस्तक सन् २॰१॰-मा प्रकाशित छ।
साहित्यकार राईका प्रकाशित कथासङ्ग्रहहरू सबै लगाएर जम्मा ४७ वटा कथाहरू प्रकाशित रहेको थाह लाग्छ। ‘फ्रण्टियर’ कथा सङ्ग्रहमा - प्रकृतिपुत्री, माछाको मोल, स्मृति-चित्र, मानिस, फ्रण्टियर, टीका, असफल कलाकार, नूर आलम, दिल्लीको सूर्मावाला, जिउँदो लास अनि शिल्पी; ११ वटा कथा सङ्ग्रहित छन् । ‘यात्री’ मा - कुकुर, सिन्दुर पोते, बालुका कण, बाबु-छोरा, साहित्यिक, ज्यानमारा ?, बाजी, जरजेटको सारी, र यात्री जम्मा ९ वटा कथा सङ्ग्रहित छन्। ‘खहरे’ कथासङ्ग्रहमा - कस्तो मानिस, सिलभिया, छाता, हिउँले पुरेको रहस्य, हीराको हार, एब्स्ट्रयाक्ट आर्ट, प्रेमको शहीद, ठिहीमा सारा रात लालटिन तापी काटें, म तिनीदेखि बाँच्न चाहन्छु मेरा छिमेकीसित अनि त्यस रात - जम्मा १॰ वटा कथा सङ्ग्रहित छन्। बड़ा डिनर कथा सङ्ग्रहमा - तिब्बतको हुलाक पथ, आज आमा आउँदिन त, पालाको पैंचो, बड़ा डिनर अनि मसिनीको संसार - जम्मा ५ वटा कथा सङ्ग्रहित छ। शिवकुमार राईका सात कथा - सङ्ग्रहमा सातवटा कथाहरू क्रमैले - सन्की वा सन्त, प्रेमलालको बिहे, जलदापाड़ा अभय अरण्यको कान्छा मगर, चुनारगढ़की बन्दिनी, पुत्लो, पन्चामृत अनि धन भला गाँठीका प्रकाशित छन्। त्यसैगरी अन्तिम कथा सङ्ग्रह शिवकुमार राईका असङ्कलित रचनाहरू - मा बाँसुरी, अनन्तसित, दशैंको सम्झनामा, सेक्यूरिटी एक्ट, मैले पनि जन्तु पालेको थिएँ गरी ५ वटा कथा सङ्ग्रह प्रकाशित छन्।
२.४. साहित्यकार शिवकुमार राइका साहित्यिक लेखन प्रवृत्ति
शिवकुमार राई अत्यन्तै लोकप्रिय कथाकार हुन्। उनका अधिकांश कथाहरू जस्तै - माछाको मोल, फ्रण्टियर, बड़ा डिनर, कस्तो मानिस, दिल्लीको सुर्मावाला, टीका, तिब्बतको हुलाक पथ, सिलभिया, हीराको हार, शिल्पी, छाता आदि असाध्यै लोकप्रिय कथाहरू हुन्। ‘डाक बंगला’ एउटै उपन्यास लेखे तापनि गुणात्मकताको कारणले उनी उपन्यासकार सिद्ध भएका छन्। उनको साहित्यिक प्रवृत्ति निर्क्यौल गर्नका निम्ति उनका कथाहरूलाई मुख्य रूपमा हेर्न पर्ने हुन्छ।
शिवकुमार राईलाई मुलतः भारतको गुरूप्रसाद मैनाली मानिन्छ। नेपालमूलका कथाकार गुरूप्रसाद मैनालीले जसरी सामाजिक धारामा कथाहरू लेखे जस्तै - ‘परालको आगो’ उनको बहुचर्चित् कथा हो। त्यस्तै अर्को कथा -‘नासो’ हो त्यसरी नै शिवकुमार राईले पनि आफ्ना कथाहरूमा नेपाली समाजलाई जस्ताको तस्तै प्रस्तुत गरे। उनका कथाहरूमा नेपाली समाजको राम्रो झलकहरू पाइन्छन्। ‘माछाको मोल’, ‘टीका’ ‘सिन्दुर पोते’ ‘तिब्बतको हुलाक पथ’ ‘दशैंको सम्झनामा’ ‘मसिनीको संसार’ आदि कथाहरूमा नेपाली/गोर्खा समाजको राम्रो चित्रण भएको पाइन्छ।
साहित्यकार राईको लेखनको अर्को विशेषता हो - ऐतिहासिकता। विशेष गरेर ऐतिहासिक पात्र-पात्राहरूलाई उठाएर वा इतिहासपरक कथालाई पार्शवभाग (पछिल्तिर) मा राखेर कथा कथ्नुमा साहित्यकार राई निकै अघि छन्। एकभन्दा अर्को राम्रो उनको इतिहासपरक कथाहरू छन्। ‘असफल कलाकार’, ‘नूर आलम’, ‘शिल्पी’, ‘चुनार गढ़की बन्दिनी’ प्रेमको शहीद, आदि कथाहरूमा साहित्यकार राईले पर्याप्त मात्रामा इतिहासपरक पुट भरेका पाइन्छन्।
साहित्यकार राईको कथालेखनमा पाइने अर्को विशेषता हो - रहस्यत्मकता। उनका धेरैवटा कथाहरू नै रहस्यले भरिएका छन्। त्यसैले उनका कथाहरू पढ़िरहँदा कुनै कथकले भाँती पुरयाएर अभिनयसहित कथा भनिरहेको जस्तो लाग्नु स्वाभाविक हो। यसैले पनि साहित्यकार राईका कथाहरू लोकप्रिय छन्। ‘तिब्बतको हुलाक पथ’, ‘ज्यानमारा ?’, ‘कस्तो मानिस’, ‘आज आमा आउँदिन त’, ‘हीराको हार’, ‘फ्रण्टियर’ आदि कथाहरू पढ़िरहँदा पाठकको मन र आँखामा एउटा चलचित्रको छाप परिरहेको हुँदछ।
शिवकुमार राईले आफ्ना धेरैवटा कथाहरूलाई एउटा जलपले भरेका छन् र त्यो जलप हो - व्यंग्यत्मकता र हास्यत्मकता। ‘दिल्लीको सूर्मावाला’, ‘छाता’, ‘कस्तो मानिस’, ‘एब्स्ट्रयाक्ट आर्ट’, ‘साहित्यिक’ आदि कथाहरू एकभन्दा अर्काे राम्रो र विशेष छन्। र राईका यी कथाहरू पढ़दा पाठकलाई धेरै मनमा काउकुती पनि हुने गर्छ र खुब हाँसो उठ्नसक्छ। मनमा निरन्तर रसको आस्वादन भइरहन्छ ।
३. निष्कर्ष:
नेपाली साहित्यको श्रीवृद्धिमा साहित्यकार शिवकुमार राईको योगदान पहिलो लहरमै आउँदछ। उनीभन्दा अघि दार्जीलिङ भेकबाट राम्रो गरी लेख्नेहरूमा साहित्यकार रूपनारायण सिंहको नाम आउँथ्यो। इन्द्र सुन्दास प्रभृत्ति साहित्यकारहरूले पनि कथा अनि उपन्यासमा धेरै कलम चलाए। तर शिवकुमार राईले नेपाली साहित्यमा रूपनारायण सिंहको संस्कृतपरक भाषाभन्दा अलग्गै मौलिकता लिएर आए। राईको भाषामा पर्याप्त लोक लवजहरू पाइन्छन्, उनका पात्रहरूले नेपाली समाजकै बारीखेती, जङ्गलपाट, बजार क्षेत्रमा बोल्ने भाषा बोल्छन्। उनीहरूको पीड़ा हामी आम मानिससित मिल्नेखालका छन्। उनीहरूको दुःखमा हामीलाई अतिशय दुःख लाग्छ र उनीहरू खुशी हुँदा हामी पाठक पनि खुशी हुन्छौं अनि उनीहरूले हसाउँदा हामीलाई मरून्जेल हाँसो पनि उठ्छ। उनका कथाहरू पढ़ेपछि पाठकहरू कथा विधातिर आकर्षित् हुनथाल्छन्। पाठकलाई त्यसदेखि उता साहित्य मन पर्न थाल्छ।
साहित्यकार शिवकुमार राई आज हामीसित सशरीर छैनन् ; तर उनका कथाहरूले पाठकलाई सधैंभरि छेउमा बसेर कथा सुनाइरहने छन्।
Thanku so much for this
ReplyDeleteThanks to you too for visiting our site.
Delete