उपन्यास भ्रमर’बाट पात्र मोटा राई - को चरित्र-चित्रण/Nepali Novel Bhramar /उपन्यासकार रूपनारायण सिन्हा/Nepali Writer Rupnarayan Sinha
स्वच्छन्दतावादि धाराका उपन्यासकार रूपनारायण सिन्हाद्वारा लिखित भ्रमर उपन्यास सन् १९३६ - मा प्रकाशित नेपाली साहित्यको एउटा अमूल्य कृति हो।
यस उपन्यासमा शेखर अनि वीणा मूल पात्र (नायक-नायिका) हुन् भने माया, सहनायिका र अन्य प्रासङ्गि पात्रहरू छन्। प्रासङ्गि पात्रहरूमा एकजना रोचक र उपन्यासलाई थप जीवनन्तता प्रदान गर्ने पात्र हो - मोटा राई। उपन्यासमा मोटा राईका अरू नाम पनि छन् - रघुवीर राई, क्या नाम राई। रघुवीर राईको बोल्दाख्ेरि ‘क्या नाम’ भनेर थेगो जोड़ने बानी भएको कारणले नै उपन्यासकारले ‘क्या - नाम’ राई भनेर पनि उपन्यासमा उनको परिचय राखका छन् -
रघुवीर राईको बोलीमा हास्य तत्त्व पनि छ। एउटा उदाहरण हेरौं - महाशय जी गानुसानु परै रहोस्। तपाईंको -क्या नाम - त्यस दिनको गुण कहिल्यै बिर्सनेछैन। तपाईंको -क्या नाम - नाम दया गरेर बताउनु हुन्छ ? (जहाजमा, पृष्ठ ७४)
उपन्यासमा रघुवीर राईको प्रवेश तृतीय खण्डको जहाज उपशीर्षक प्रसङ्गमा हुन्छ। जतिबेला अरणकोला जहाज हुगली नदीको ‘उटरम घाटलाई छोड़ेर रङ्गून जान लागेको हुन्छ र त्यस जहाजमा सवारीको रूपमा डेक यात्री भएर उपन्यासका मूल पात्र अथवा नायक शेखर पनि उपस्थित हुन्छ। मोटा राईले शेखरसित भेट गरेपछि - ऊ प्रासङ्गि पात्र भएर उपन्यासमा अघि पनि देखिन्छ।
प्रोममा घर भएको मोटा राई - रङ्गूनमा ससुरालीमा सपरिवार बस्छ। रङ्गूनदेखि लगभग पचासी कोस टाड़ामा रहेको छ - प्रोम। इरावदी नदीको तीर क्षेत्रमा मोटा राईका अनेक भैंसी र गाई गोठ छन्। ऊ तेल खानिमा सरदारी र ठेकादारी गर्छ - धेरै श्रमिकहरू उसको अधीनमा छ र यसो हुनाले ऊ आर्थिक रूपले सम्पन्न देखापर्छ। उसको पुख्र्यौली इतिवृत्त् उपन्यासमा राखिएको छ। जागीरमान राईका दुईजना छोराहरू थिए अबीरमान र कुबीरमान राई । रघुवीर राई, कुबीरमानको छोरो हो।
उसको विवाह रङ्गूनका एकजना अवकाशप्राप्त छेत्री सुबेदारकी कान्छी छोरी मलिनादेवी - सित भयो।
अहिले रघुवीर राईका दुईजना छोरीहरू छन्। ठूली, अठाह्र वर्षिया, श्याम वर्णकी - श्यामा, अनि सानी - पन्ध्र वर्षिया, गोरो वर्णकी गौरी। दुईजना छोरीहरूका बाबु मोटा राई उर्फ रघुवीर राई निकै मजाको पात्र हो।
उसको रातो ठूलो मोहोड़ा छ - र विशेष परिस्थितिहरूमा अझै रातो हुने र पसिनाको धारा छुट्ने उसको शरीर छ। उसको शरीरमा आएको परिवर्तनबारे उपन्यासकारले प्रोम यात्रा उपशीर्षक प्रसङ्गमा लेख्छन् - उमेर र धनवैभवको वृद्धिका साथसाथै रघुवीर मोटाउन लाग्यो। त्यसको सेतो अनुहारले क्रमागत रातो रङ्ग फेर्न लाग्यो औ पसीना त्यसको चिरन्तन साथी भयो। (प्रोम यात्रा, पृष्ठ ७६)
रघुवीर राई उर्फ मोटा राई धार्मिक मनोवृत्तिको व्यक्ति हो; उसले सनातन धर्म छाड़ेर आर्यसमाजी धर्म अनुसरण गरेको छ। त्यही भएर आर्यसमाजी धारणा/मान्यता अनुसार उसले जातपात मान्दैन ; उपन्यास - भ्रमरको विशेषतालाई अझ चहकिलो बनाउने पात्र मोटा राई मानवतावादि, उदारवादि पात्र हो। दुवैजना छोरीहरूको निम्ति बाबुको भूमिका निर्वहनमा उसको समर्पण भाव देखिने भएकोले मोटा राई सचेत, पारीवारिक व्यक्तित्व पनि देखा पर्छ। मोटा राई आतिथ्य सत्कारमा पनि उत्तिकै आग्रहित रहने पात्र हो भनेर देखाउनलाई उपन्यासकारद्वारा प्रस्तुत गरिएको यो लहर यहाँ राख्न सान्दर्भिक देखिन्छ- घरमा पुगेर मोटा राई, शेखरको सत्कार गर्नमा व्यस्त भयो शेखरलाई के खुवाउने हो ? कहाँ कसरी बसाउने हो? कसरी कृतज्ञता प्रकाश गर्ने हो ? राईको सत्कार र यत्नको सीमा छैन। (प्रोम यात्रा, पृष्ठ ७६)
विदेशमा कामकाज नभएको वेरोजगार चिनजना पनि कोही नभएको शेखरलाई मोटा राईले साथ सहयोग दिन्छ। (जहाजमा, पृष्ठ ७३)
यसरी हेर्दा उपन्यासकार रूपनारायण सिंहद्वारालिखित उपन्यास भ्रमर -को मोटा राई - प्रासङ्गिक हुँदाहुँदै - उदारवादी, सम्पन्न, मानवतावादी, धार्मिक र सामाजिक पात्र हो। नेपाली समाजको आदर्श परिकल्पना गरेर साहित्यकार सिन्हाले मोटा राईलाई आफ्नो मनोवृत्तिद्वारा सिर्जना गरेका - ऊ एकजना सद्पात्र हो।
Comments
Post a Comment