सङगीत जगतमा शब्दकार-लय संयोजक पारस गजमेरको योगदान

Musician Late Paras Gajmer
17 April 1962 - 15 January 2021



नेपाली सङ्गीत जगतमा सङ्गीतसाधक पारस गजमेरको विशेष योगदान रहेको छ। विशेष गरेर 90 को दशकमा उनीद्वारा लेखिएको तथा लय संयोजन गरिएका गीतहरूले श्रोताहरूको मन जित्न सफल बनेको हो । 

जीवनी: 

सङ्गीतसाधक पारस गजमेरको जन्म 17 अपे्रल 1962 को दिन दार्जीलिङको चाँदमारीमा पिता (स्वर्गीय) देशराज गजमेर अनि माता (स्वर्गीय) मधु गजमेरको कोखबाट भएको थियो। जब उनी तीन वर्षको भए, त्यसबेला उनलाई पोलियो रोगले समात्यो, जसले गर्दा उनको आँखाको ज्योति हरायो । यसैभएर उनको शिक्षादिक्षा विशेषप्रकारले दिव्याङ्गहरूका साथमा भयो । 

साङ्गीतिक योगदान:

शब्दकार - लयसंयोजक पारस गजमेर सानैदेखि गिटार बजाएर गाउने गर्थे। उनले 1979 मा सङ्गीत जगतमा प्रवेश गरेका हुन्। उनको शब्द अनि लय संयोजनमा नेपाली श्रोतासंसारले दुईवटा गीति एल्बम पायो - पहिलो, साँझको घाम अनि दोस्रो मेरो भाग्य

उनका गीतहरू नेपाली सङ्गीत जगतका ख्यातिप्राप्त तथा सुपरिचित गायक-गायिकहरूको स्वरमा आबद्ध रहेका छन् । जुन सूचीमा पवन गोले, पेमा लामा, उदय-मनिला सोताङ, थुप्देन भुटिया, हिरा रसाईली, महेश  परियार प्रभृत्ति गायक-गायिकाहरू पर्दछन् । विशेष गरेर सन् 1991 मा सार्वजनिक भएको साँझको घाम गीति एल्बमले पारस गजमेरलाई एकजना शब्द अनि लयसंयोजकको रूपमा प्रतिस्थापित गरायो ।  

उनीद्वारा सिर्जित् बहुचर्चित गीतहरूको बोल केही यसप्रकारले रहेका छन् - 

बिर्सिदेऊ तिमी मलाई 

मेरो भाग्य, च्यात्तिएको कागजजस्तो

छोड़िजाने परदेशीले, चिट्ठी लेख्छु भन्थ्यो 

जानी नजानि तिमीलाई 

कलेजोमा चोट लागेछ

जिन्दगी त खेलौना होइन 

सम्हालिदेऊ जीवनलाई 

आदि ... 

पारसले आफ्नो जीवनकालमा धेरैवटा कार्यक्रमहरू, धेरैवटा ठाउँहरूमा प्रस्तुत गरे। दार्जीलिङका विभिन्न स्थानहरूमा, सिक्किम, सलुवा आदि यी ठाउँहरूमा हुन् । 

 व्यक्तित्व

सङ्गीतसाधक पारस गजमेर दृष्टीहीन थिए तर उनमा एउटा दैवीय विशेषता के थियो भने उनले एकपल्ट भेटेको व्यक्तिलाई दोस्रोपल्ट भेट्दा नामै नबताई चिन्नसक्ने क्षमता थियो। कोही परिजनले नयाँ लुगा लगाएको उनी फट्टै भन्न सक्थे । उनले आफ्ना गीतका शब्दहरूमा जीवनमा आफूले अनुभव गरेका दुःख र निराशालाई स्वर दिए। तर बाहिरी जीवनमा उनी सधैं हँसमुख थिए । मंचीय कार्यक्रमहरू प्रस्तुत गर्नपर्दा उनले आफ्ना दर्शकहरूलाई पहिले हँस्यौलीहरू भनेर हँसाउने गर्थे । दर्शकवर्गलाई हसाउँदै आफ्नो प्रस्तुति पस्कनु उनको व्यक्तित्वको एउटा विशेषता नै थियो । 

मृत्यु

त्यो दिन थियो 14 जनवरी 2021। दार्जीलिङको ठिही जमाउने चिसोको मौसममा, स्थानीय सदर थाना छेउमा स्थित निज वासस्थानमा पारसलाई रोगले आक्रन्त तुल्यायो । यसै त उनलाई घातक वा लामो थल्याउने रोग लागेन वा थिएन। यद्यपि मधुमेहको रोग भने उनको पेवा बनिसकेको थियो । 15 अप्रेल 2021, शुक्रबारको बिहान 1 बजेर 10 मा अस्पतालमा उनी चीर निद्रामा निदाए । 

शारीरिक रूपमा ठगिनु परे पनि सङ्गीतपारखी पारसको मनसःसिर्जना भने जोकोहीलाई छुनसक्ने करूण रसले भरिएका थिए वा छन् । जोचाहिँ शब्द र लयसंयोजनको रूपमा ती बाहिर प्रकट भए । श्रोताजगत उनका गीतहरूमा अमूल्य पारस बनेका छन् ।  


Comments