होली पर्व भनेको खुशी, उत्साहको रङ्ग, एकअर्कालाई पोत्ने पर्व हो। परापूर्व कालदेखि नै होली पर्वको जनमानसमा ठूलै अनि विशेष भूमिका रहँदै आएको छ। विशेष गरेर संसारभरिमा हिन्दुबाहुल क्षेत्रहरू एवम् भारत र देश नेपालमा होली पर्व बड़ो धुमधामको साथमा पालन गर्ने गरिन्छ।
होली विशेष गरेर बसन्त ऋतुको उल्लासमय उज्यालोमा यो पर्व पालन गर्ने गरिन्छ। बसन्तलाई ऋतुहरूको राजा भनिन्छ। किनभने यस बेला चारैतिर फूल फुलेर, मधुरताको साथमा प्रकृति शृङ्गारिएकी हुन्छिन्। चारैतिर चराहरूको मिठो कलरव सुनिइरहेको हुन्छ। धारा पँधेरोको कलकल ध्वनि, वनजङ्गलको हृदयतलमा बजिरहेकै हुन्छ। हिन्दु धार्मिक ग्रन्थ नारद पुराण अनि भविष्य पुराणमा पनि चर्चा भएको होली पर्वलाई अर्को शब्दमा बसन्तोत्सव-कामोत्सव पनि भनिन्छ। भारतको प्राचीनतम इतिहास हेरयौं भने होली वा होलाकको नामले होली पालन गर्ने गरेको देखिन्छ। दुई दिन पालन हुने यस पर्वमा जुन शब्द होलिका-को प्रयोग हुन्छ त्यो हिन्दु धार्मिक परम्परासित सम्बन्धित रहेको छ। होलिका दहन गर्नुको अर्थ क्लेष र द्वेष दहन गर्नु अर्थात जलाउनु हो, र त्यहाँ जो बाँच्छ त्यो आनन्द हो। धार्मिक परम्परा, समाज-मनोविज्ञानसित जोड़िएको यस पर्वमा धर्मसम्बन्धित कुन र कस्तो कथा विद्यमान छ, त्यो बुझ्न बुझिहेरौं ।
होली विशिष्ट उत्सव हो - यसको विशेषता केमा रहेको छ र होलिका दहन किन गरिन्छ ? त्यसको प्रासङ्गिक कथा यस्तो छ -
धार्मिक ग्रन्थहरूअनुसार यो सृष्टिमा काल खण्डलाई चार भागमा बाँड़िएको छ - सत्य युग, त्रेता युग, द्वापर युग र कलियुग। हामी अहिले बाँचिरहेको कलिकाल हो अर्थात् कलियुग। त सत्य युगमा हिराण्यकशिपु अनि हिराण्यक्ष नाम गरेका दुईजना दानवहरू थिए। हिराण्यकशिपु यति सामथ्र्यवान र बलवान थिए कि तिनले आफूलाई देवतागणभन्दा पनि महान भन्न लागे र ईश्वरपूजा आफ्नो राज्यमा निषेध गरिदिए तर तिनका सुपुत्र प्रल्हाद भने भगवान विष्णुजीको चरम भक्त बनिदिए। आफ्नै कुलमा, आफ्नै खूनमा विरोधी तत्व बनिएको राजा हिराण्यकशिपुलाई पटक्क रूचेन। तिनले अनेकथरी गरी प्रल्हादलाई सजाय दिने वा निजको प्राण हर्ने प्रयत्नहरू गरे। भिरबाट पल्टाइदिए, विशालु साँपहरू भएको ठाउँमा राखिदिए, खुँखार बाघको खोरमा हालिदिए तर प्रल्हादको रौं पनि बाङ्गो भएन। भक्तिको बलले गर्दा उनी सर्लक्क बाहिर निस्केर आउँथे। छोरोलाई सजाय दिएर मन गलिसकेको हिराण्यकशिपुले तब आफ्नी बहिनी होलिकालाई सम्झिए। आगोमा नजल्ने वरदान होलिकाले ईश्वरबाट प्राप्त गरेकी थिइन्। तब प्रल्हादलाई काखमा लिएर आगोमाथि बस्ने हुकुम हिराण्यकशिपुबाट होलिकालाई प्राप्त भयो। तिनले उसै गरिन् ; तर होलिका आगोमा खरानी भइन्, प्रल्हाद यसरी निम्ताइएको दुर्घटनाबाट पनि सर्लक्कै बाहिर निस्केर आए। तबदेखि यस घटनालाई स्मरण गर्न र प्रल्हादको भक्तिलाई सम्मान गर्न - असत्यमाथि सत्यको जीत, अन्धकारमाथि उज्यालोको जीत र अन्यायमाथि न्यायको जीतको प्रतीक रूपमा होलिका दहन गर्ने परम्परा मानवसमाजमा बसे। यसै खुशीमा मानवजातिले रङ्गको पर्व पालन गरेका थिए भन्ने मानिन्छ।
तर हामीले धार्मिक ग्रन्थहरू पल्टायौं भने यसबाहेक होली अझै अन्य कथात्मक परम्पराहरूसित पनि सम्बन्धित रहेको देखिन्छ। जस्तै यो पर्व दानवी ढुंढी, राधा-कृष्णको रासलीला अनि कामदेवको पुनर्जन्मसित पनि जोड़िएको छ। केही मान्यताहरूअनुसार होलीमा रङ्ग धसेर मानिसहरूले शिवका गण अनि तिनको जन्तीको भूमिका निर्वाह गर्दछन्। त्यस बाहेक पनि अझै एउटा मान्यताअनुसार होली पर्वको दिन भगवान श्रीकृष्णजीले पूतना नामक दानवीको हत्या गरेका थिए। यसै खुशीमा ग्वालाहरूले रासलीला गरेर रङ्ग उड़ाएका थिए।
यसै, कुनै पनि चाड़ पर्व पालनमा समय काल र परिस्थितिको गहिरो रङ्ग परेकै हुन्छ। अथवा भनौं एउटै पर्व पनि विभिन्न कालखण्डमा मनाइँदा अर्कोअर्कै तौर-तरिकाले पालन गर्ने गरिएका भेटिन्छन्। होली पर्वको पालनमा पनि परम्परा हेरयौं भने अर्कै-अर्कै तरिकाले पालन गरिएको भेटिन्छन्। जस्तै प्राचीनकालमा महिलाहरूले आफ्नो परिवारको सुख समृद्धिका लागि यो पर्व पालन गर्ने गर्थे । त्यसबेला उनीहरूले पूर्ण चन्द्रमाको पूजा गर्थे । जब वेदहरूको काल शुरू भयो तब यो पर्वमा नवात्रैष्टि यज्ञ गरिन्थ्यो। त्यस समय खेतमा आधा पाकेको अन्न यज्ञमा हवन गरेर प्रसाद ग्रहण गर्ने परम्परा समाजमा थियो। अन्नलाई होला भनिने हुँदा यसको नामै होलिका भएको परम्पराविद् समाजशास्त्रीहरू बताउँछन्। यस पर्वको पालनपछि चैत महीनाको आगमन हुन्छ र वसन्तको आगमन हुन्छ अनि हिन्दु धर्म ग्रन्थावलीमा उल्लेख भएको प्रथम पुरूष ‘मनु’को पनि यसै दिन जन्म भएको मान्ने गरिन्छ।
होलीसम्बन्धित यी प्रसङ्गहरूको चर्चा भेटिन्छन्। होलीको पर्व भनेको मानवजातिसित नङ र मासुजस्तो जोड़िएको चाड़ हो। यस पर्वलाई सिमित शब्दहरूमा विश्लेषण गरेर बताइसक्नु सम्भव पनि हुँदैन। किनभने होली पर्वसित मानवजातिको साहित्य, सङ्गीत पनि जड़ित छ। होलीसम्बन्धी गीत, कथा, नाटक, फिल्मका केही दृश्यहरू सबै पाइन्छन्। शास्त्रीय सङ्गीतमा धमार, ध्रुपद, ख्याल, ठुमरी आदि,नृत्यमा कथक, रागमा बसन्त, बहार, हिंडोल अनि काफीमा होलीको रङ्ग भेटिने जानकारहरू बताउँछन्। संस्कृत साहित्यमा कालिदासद्वारा रचिएको ऋतुसंहारमा एक सर्ग, भारवि, माघ अनि अन्य कयौं संस्कृत कविहरूका कृति रचनामा वसन्तको उल्लेख भएको पाइने थाह लाग्छ। हिन्दी फिल्महरूमा पनि होलीसित जोड़िएका कयौं गीतहरू तथा दृश्यहरू भेट्ने गर्छौं।
उपसंहारमा भन्नपर्दा आजको समय, विज्ञान र तकनीकीको भए पनि होली पर्वको अलग्गै मिठो रौनक समाजमा देख्न पाइन्छ। मानिसहरूले एकअर्कालाई रङ्ग धसेर खुशी बाँटने गर्दछन्। हिन्दु मात्र नभएर मुसलमान जातिले पनि होली पालन गर्ने गरेको इतिहासमा उल्लेख पाइन्छन्। त्यसैले जीवनमा रङ्ग भर्ने यो एउटा मिठो बहाना छ।
तर दुःखको कुरा के हो भने आजभोलि रसायनिक रङ्गको प्रयोगहरू बढ़ेको देख्न सकिन्छ। जसले छाला वा आँखा आदिको रोग निम्त्याउन सक्छ। होलीको नाममा अश्लील व्यवहार गर्ने र मदपानको सेवन गरेर डीजे आदि बजाएर परिवेशको शान्ति तथा स्वच्छतालाई बिगारेर प्रदुषणमय बनाउने गरेको घटना पनि भेटन सकिन्छन् जबकि होलीसित सम्बन्धित आफ्नै मौलिक लोकगीतहरू छन्। त्यसको प्रचलन हराइरहेको आजको स्थिति छ। होली पर्वको धार्मिक मूल्यमा क्षति नपुरयाइ यस पर्वलाई पालन गर्ने हो भने यो अति व्यस्त समयमा पनि ताजापन ल्याउन सकिने एउटा राम्रो अवसर प्रतीत हुन्छ। होलीको रङ्गले मानिसमा एउटा स्फूर्ती दिँदछ, जसले चाहिँ जीवनलाई रङ्गीन बनाउन एउटा प्रेरणा थप्दछ।
Comments
Post a Comment