स्वरकिन्नरी तारादेवी/ गायिका - तारादेवी/BIOGRAPHY OF SINGER TARADEVI

 

स्वरकिन्नरी तारादेवी

Gayika TARA DEVI




नेपाली सङ्गीत जगतमा गायिकाहरूको सङ्ख्या धेरै न्यून छन्। तिनमा पनि विशेष पहिलो पंक्तीमा पर्नसक्ने नामहरूमा एउटा हो - गायिका तारादेवी। आजको व्यक्तित्वचर्चामा हामी स्वरकिन्नरी तारादेवीमाथि छोटो कैरन प्रस्तुत गरिरहेका छौं। 

गायिका - तारादेवीको जन्म सन् 1945 मा काठमाडौं, नेपालमा भएको थियो। 6/7 वर्षको उमेरदेखि नै गायनक्षेत्रमा उक्लिएकी गायिकाले आफ्नो 40 वर्षको गायनयात्रामा लगभग 4 हजारवटा गीत गाइन्। तबलावादक बाबु कृष्णबहादुर थिए, फुपू अनुरादेवी भजन गाउँथिन्, उनलाई सानैदेखि साङगीतिक परिवेश प्राप्त भयो। पारीवारिक सचेतताको कारणले गायिका तारादेवीले सानैमा गुरू भैरवबहादुर थापासित सङ्गीत सिक्ने अवसर प्राप्त गरिन्। जब उनी 5 वर्षकी थिइन्, नेपालीहरूको गर्व अनि सम्मानको प्रतीक रेडियो नेपालबाट गाउने सुयोग प्राप्त गरिन्। प्रारम्भमा उनी रेडियो नेपालसित आबद्ध रहेर बालकार्यक्रमहरूमा गाउने गर्थिन्, पढ़ाइसँगसँगै उनले आफ्नो गायनकलालाई पनि अघि बढ़ाउँदै लगिन् अनि सङ्गीतविधामा स्नातक पूर्ण गरिन्। 

गायिका तारादेवी, आफ्नो सुमधुर गायनकै बलले ‘नाइटेंगल अफ् नेपाल’को उपाधिद्वारा सुशोभित् हुन पुगिन्। आफ्नो गायनयात्राको प्रारम्भमा उनले पाँच रूपियाँ प्रति गीत पारीश्रमिक प्राप्त गर्थिन्। उनले पहिलो गीतको रूपमा श्यामदास वैष्णवको शब्द अनि उस्ताद भैरवबहादुर थापासित सङ्गीतसंयोजनमा भैरवबहादुरसितै युगल गीत - ‘तिमी र हामी भेटौंला, फूलबारीको छेवैमा’ - बोलको गीत पहिलोपटक सन् 1955 मा रेकर्ड गराएकी थिइन्। सन् 1958 मा विश्वनिकेतन् उच्च माध्यमिक स्कूल, त्रिपुरेश्वर, काठमाडौंबाट एसएलसी उतीर्ण गरिन् तर आफ्नो साङ्गीतिक रूचीले गर्दा उनले पढ़ाईलाई अघि बढ़ाउन सकिनन्। गायिकाको रूपमा रेडियो नेपालमा नियुक्त भएकी तारादेवीले आफ्नो 30 वर्षको पेशागत् जीवनमा रेडियो नेपालको खरीदार अनि पछि पदोन्नति भएर सचिव पद्सम्म आसिन् हुन पुगिन्। गायिका तारादेवीले आफ्ना जीवनका अधिकांश गीतहरू - नातिकाजि,शिवशंकर गोसाङ्गे, किरण खरेल अनि राममणि तृषित, गोपाल योंजनका सङ्गीतमा गाइन्।

तारादेवी यस्ता गायिका हुन् जसले धेरै लामो पीढ़िको निम्ति गीत गाइन्। जसले शुभकामना गीत, भजन, राष्ट्रिय र फिल्मी गीतदेखि लिएर लोकगीतसम्म गाइन्। 

गायिका तारादेवीले एयरक्राफ्ट पेशासित सम्बद्ध शिवबहादुर श्रेष्ठसित सन् 1966 मा प्रेम विवाह गरिन्। एउटै टोलनिवासी भएका हुनाले उनीहरूको सानिध्य धेरै समयदेखि हुनेगरेको थियो, जो सम्बन्ध पछि सफल दाम्पत्य जीवनको रूपमा बदल भयो। शशी, रवि, र चारू - दुई छोरी र एकजना छोरो रहेको उनीहरूको परिवारमा आर्थिक र सामाजिक दुवै जीवन यशस्वी थियो तर यसरी नै सुन्दर ढङ्गले निर्वाह भइरहेको तारादेवीको जीवनमा एकासि वज्राघात त्यतिबेला पÚयो जतिबेला उनका 25 वर्षका जवान छोरो शशी ब्लड क्यान्सरको कारणले मृत्युको मुखमा परे। त्यसको लगत्तैपछि एउटा विमान दुर्घटनामा उनका पतिको पनि देहान्त हुनपुग्यो। यो महासङ्कटले उनको मानसिकतामा यति गहिरो आघात परयो कि त्यसबाट उनी फेरि निको हुन सकिनन्। जीवनको यस्तो दुःखद् दुर्घटनाहरूले उनको गायन यात्रालाई आधामै टुङ्ग्याइदियो। 21 जनवरी 2006 को दिन उनले 60 वर्षको उमेरमा यस संसारबाट विदा लिइन्। आफूपछाड़ि उनले छोरा अनि छोरी छाड़ेर परलोकगमन भइन्। उनका अन्तिम चारवटा गीतहरूको सङ्गालो ‘आफन्तको मनमा’ सार्वजनिन छ। उनका केही चर्चित गीतहरूमा रहेका छन् 

फूलको थुङ्गा

सोचेजस्तो हुन्न जीवन

शुभकामनाभरि

उकाली ओह्रालीहरूमा

जतातै खोजें

आदि


अब हामी गायिका तारादेवीको जीवनमा भएका केही रोचक घटनाहरूबारे चर्चा गर्छौं।

आफ्नो सिर्जनालाई अति धेरै माया गर्ने तारादेवीले सिन्दुर फिल्मको गीत रेकर्ड गराउन कलकत्ता जानपर्दा आफ्नो दुई महिनाको छोरोलाई छाड़ेकी थिइन्। यसै बेला आफ्नो भागको गीतमा स्वर भरेर तिनले घर फिर्न चाहँदा गायक नारायण गोपालले मानेनन्, गायकदुईमा यसै घटनाको कारणले धेरै लामो समयसम्म बोलीचालीसम्म बन्द भयो । सन् 1980मा गायक नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक भए, कथित बजेटको कमी र खर्च कटौतीको नाममा राष्ट्रिय नाचघरमा कार्यरत् तारादेवी, कुमार बस्नेतलगायत् 40 जनाको नोकरी खोसिएपछि, गायिका तारादेवी अनि गायक नारायण गोपाल माझको सम्बन्धमा अरू तिक्तता थपिएको र जीवनपर्यन्त यी दुईजनामा बोलचाल नभएको उनको जीवनीमा पाइन्छ। सन् 1976 एउटा चलचित्रको क्रममा गायिका तारादेवी अनि सङ्गीतकार नातिकाजि माझ केही कुरामा मतभेद उत्पन्न भयो। यसभन्दा अघिसम्म नातिकाजिको सङ्गीतमा अधिकांश तारादेवीकै स्वर आबद्ध रहन्थ्यो भने यस मतभेद्पछि तारादेवीले आफ्ना गीतहरू स्वयम् सङ्गीतबद्ध गर्न थालेकी पनि उनको जीवनीमा जान्न पाइन्छ। भनिन्छ, 30 वर्षको कार्यकाल पुरा गरेपछि रेडियो नेपालबाट उनी निष्काशित भए, यो अवकाश भनिए पनि प्रसारण संस्थान रेडियो नेपालको रवैया अवकाश प्रदान गरेजस्तो थिएन। त्यसपछि निरन्तर उनको जीवनमा छोरोको मृत्यु र श्रीमानको मृत्युजस्ता महादुर्घटनाहरूले उनलाई विक्षिप्त तुल्यायो।

उनले आफ्नो जीवनकालमा पुरयाएको योगदानकै कारणले महेन्द्रभुषण, सुप्रबल दक्षिणबाहु प्रथम, इन्द्रराज्य प्रज्ञा पुरस्कार, जगदम्बा श्री पुरस्कार, छिन्नलता पुरस्कार, टयुबर्ग आउटस्टाण्डिङ अवार्ड, नातिकाजि सङ्गीत सम्मान आदिद्वारा सम्मानित र पुरस्कृत भइन्। 

आफ्नो पछिल्लो जीवनमा नसासम्बन्धी रोगले एउटै ठाउँमा टी.भी हेरेर कि त छोरोसित तास खेलेर 10 वर्ष बिमारी जीवन बिताइन् र अन्तिममा यस लोकबाट विदा लिएर परलोकगमन भइन्। उनी आज यस संसारमा सशरीर छैनन्, तर उनका स्वरमा आबद्ध गीतहरू हाम्रै कानमा गुंजिरहेका र उनको योगदान हामीसित सधैं-सधैंलाई जीवन्त रहेका छन्।


Source :  https://youtu.be/muDTI1kJVCU

https://en.wikipedia.org/wiki/Tara_Devi_(singer)

https://youtu.be/mLwiPdAyJvY

https://www.youtube.com/watch?v=kAAjnLlO05M



Comments