एकैपल्ट प्रयोग हुने प्लास्टिकबाट उत्पन्न हुने प्रदुषण रोकथाममा युवावर्गको भूमिका



प्रस्तावना: प्लास्टिकको आविष्कार, आधुनिक मानव समाजको निम्ति धेरै ठूलो क्रान्तिकारी विषय हो। यसको आविष्कार हुनभन्दा अघिसम्म मान्छेले विभिन्न अरू थोकहरूको सामाग्रीहरू बनाउने गर्थे अनि त्यसको उपयोग गर्ने गर्थे। प्लास्टिकको आविष्कार नहुँदाखेरि दोकानपाटहरूमा चामल, आँटा, चिनी दैनिक खाद्य सामाग्री किन्नपर्दा मान्छेले लुगाको, पाटको बोराको,, कागजको झोला वा थैलाहरू प्रयोग गर्थे ; तर ती झोलाहरू सजिलैसितले च्यातिनेहुनाले सामानहरू कोही बेला त्यसै खेर पनि जाने गर्थे। तर जबदेखि प्लास्टिकको आविष्कार भयो, तबदेखि भने खाद्य सामाग्रीहरूलाई पाकेट बनाउन निकै ठूलो सहायता हुनथाल्यो। आजभोलि जति पनि सरसामानहरू आउँछन् ती सबै प्लास्टिकभित्रै लपेटिएका पाउँछौं। त्यति मात्र होइन, आजको युगलाई एक अर्थमा प्लास्टिकको युग भनेर भन्न सक्छौं। किनभने हामीले घरबाहिर भित्र जहाँ पनि नजर पुरयाउँछौं, त्यहाँ केही न केही रूपमा प्लास्टिक त हुन्छ नै हुन्छ। 




Plastic and Youth responsibility



विषय प्रवेश: प्लास्टिकको आविष्कारसित मान्छेलाई धेरैवटा कुराहरूमा सहयोग मिलेको छ। हामीले दैनिक जीवनमा जति पनि सरसमानहरू प्रयोग गर्छौं, त्यसमा प्लास्टिकको प्योकट भएको हुनाले ती धेरै दिनसम्म बस्ने गर्दछन्। तर जब ती सामानहरूको प्रयोग भइसक्छ त्यतिबेला भने प्लास्टिक बाहिर आउँछ र त्यसको नकरात्मक प्रभावलाई भने मान्छेले नियन्त्रण गर्न गाह्रो पर्दछ। हाम्रो यस निबन्धको विषय एकपल्ट मात्र प्रयोग हुने प्लास्टिकसित सम्बन्धित भएको हुनाले, हामी यहाँ प्लास्टिकका अन्य रूपहरूबारे चर्चा गर्नेछैनौं। तर एकपल्ट प्रयोग हुने प्लास्टिक के हो ? त्यसको प्रभाव र दुष्प्रभाव के हुन् ? त्यसबाट उत्पन्न हुने प्रदुषणलाई रोकथाम गर्न युवावर्गले के कस्ता भूमिका निर्वाह गर्न सक्छन् ? आदि कुराहरूमाथि हामी केन्द्रित भएर कुरा गर्नेछौं। 

विशेष गरेर मान्छेको समाजमा विभिन्न आयोजनाहरू भइरहने गर्दछन् चाहे त्यो व्यक्तिगत् पारिवारिक रूपमा होस् अथवा सामाजिक रूपमा होस्। त्यस्तो अवसरहरूमा चियाखाजा बाँड़नको निम्ति जुन प्लास्टिकनिर्मित थाल कपहरू प्रयोग गरिन्छन् ती एकदिने प्रयोगको निम्ति हुन्छन्। मान्छेले ती भाँड़ाहरूमा त्यस आयोजनामा पाकेका खानाहरू खान्छन् अनि जतासुकै फ्याँक्ने गर्छन्। फ्याँकेपछि ती प्लास्टिकका भाँड़ाहरू जमीन, खोला आदि ठाउँहरूमा पुग्ने गर्छ। हामीले पढ़ेअनुसार प्रकृति तीनप्रकारले प्रदुषित हुने गर्दछ। जल प्रदुषण अर्थात पानीमा हुने प्रदुषण, थल प्रदुषण अथवा जमीनमा हुने प्रदुषण अनि वायु प्रदुषण जो हावामा हुने प्रदुषण हो। जब हामीले प्रयोग गरेका प्लास्टिकका थोकहरू त्यसै फ्याँक्छौं ती सोझै गएर खोला र जमीनमा प्रदुषण फैलाउँछन्। छिटै नष्ट हुँदैनन्। वैज्ञानिकहरूअनुसार ती कुराहरू नष्ट हुन सयौंदेखि हजारौं-लाखौं वर्षसम्म पनि लाग्ने गर्दछ अनि हामीले त्यसलाई जलाउने हो भने पनि धेरै परिमाण भनौं अथवा धेरै मात्रामा छ भने त्यसबाट निस्किएको कार्बनडाइअक्साइडले हाम्रो वायुमण्डललाई प्रदुषित बनाउँदछ। 

प्रदुषण रोकथामको उपाय: यस्तो अवस्था उत्पन्न भएपछि त्यसले जमीनमा पैह्रो जाने, खोलाको पानीलाई मैला बनाउने अथवा हावाको माध्यमबाट रोग सार्ने जस्ता दुष्प्रभावहरू फैलाउन सक्दछन्। त्यसो हो भने हामीले पहिलेदेखि नै सचेत बन्न र यस्तो अवस्था जन्मिन नै नदिनलाई कोशिश गर्नुपर्छ र त्यसका उपायहरू हामीसित धेरैवटा छन्। 

जस्तै कि पहिलेको जमानामा हाम्रो गाउँघरमा बिहेबटुल, पूजा आदि हुँदा केराको, नेभारोको, टीकको, बेपारीको पत्ताहरूलाई टिपेर, बाँसको सिन्काले उनेर भाँड़ा तयार गर्ने गरिन्थ्यो। ती भाँड़ाहरूलाई दुना टपरी भन्ने गरिन्थ्यो। दुनाटपरीमा लहरै बसेर पाकेको थोकहरू खाने अनि घरघरमा प्रसाद आदि पुरयाइने गरिन्थ्यो। त्यसबाट के हुन्थ्यो भने पात थोरै समयमा नष्ट हुन्थ्यो र त्यसबाट मल बनिन्थ्यो र उद्भिदहरूलाई राम्रो हुन्थ्यो अनि मानिसहरू पनि जब यी जातका पातहरूका रुखहरू देख्ने गर्थे त्यसलाई जोगाउनेतिर ध्यान दिन्थे। यसरी रुख पनि जोगिन्थे अनि वातावरण हरियो भइबस्दथ्यो। 

Plastic and Youth responsibility

युवावर्गको भूमिका: १) युवावर्गले प्रदुषणलाई नियन्त्रण यसरी नै गर्न सक्छन्। समयमा अथवा भनौं बर्खामा रुखपातको आ-आफ्नो ठाउँमा संरक्षण गरिएको छ भने हामीलाई प्राकृतिक रूपमा ठूलठूला घाटाहरू पर्ने छैनन्। अवसर आयोजनाहरूमा जब पनि युवाहरू अघि बढ़ेर काम गर्नुपर्छ, त्यतिबेला प्लास्टिकले बनेको सामानहरू प्रयोग गर्नुभन्दा पातले बनेको सामाग्रीहरू प्रयोग गर्ने दिशातिर उनीहरूले ध्यान दिनसक्छन्। यसबाट साना घरेलू उद्योगहरूलाई पनि निकै ठूलो सहायता हुनसक्छ। 

२) त्यसरी नै गाउँघरमा यस कुरालाई प्रचार-प्रसार गर्नु पनि उतिकै महत्त्वपूर्ण ठहर्छ। किनभने साधारण मानिसले बुझेका हुन्छन् - प्लास्टिकद्वारा बनिएको भाँड़ावर्तन प्रयोग गर्नुमा धेरै सजिलो हुन्छ। तर वास्तविकतामा उनीहरूले यसबाट कति हानि हुन्छ भन्ने कुरो बुझेका हुँदैनन्। 

३) एकपल्ट प्रयोग हुने प्लास्टिकहरूको कुरा गर्नपर्दा बालबच्चाले खाने गरेको चक्लेटहरूको पनि कुरा गर्न सकिन्छ, त्यसलाई प्याकेट गरिएको जुन पदार्थ हुन्छ त्यो धेरैगरी प्लास्टिकको नै हुने गर्छ, यसमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

उपसंहार: प्लास्टिक वास्तवमा उपयोगी वस्तु हो, तर यसको दुरूपयोग गर्नुहुँदैन। विशेष गरेर एकदिन मात्र प्रयोग हुने प्लास्टिकहरूको उपयोगमा कमी ल्याउनपर्छ ताकि तीहरू माटो, पानी र हावामा नपुगुन्। यसको निम्ति सचेत युवावर्गको सधैं नै ठूलो भूमिका रहेको हुँदछ। 

670 शब्द  


Comments