प्रकृतिको संरक्षण

प्रकृतिको संरक्षण 


(निबन्ध लेखन)


आजको समयमा प्रकृतिको संरक्षण अत्यन्तै आवश्यक चर्चा र पहलको विषय हो। प्रकृतिसित मानवमात्र होइन, सम्पूर्ण चराचर जगत जोड़िएको हुन्छ। प्रकृतिसित खोला, जङ्गल, पानीका मुहान, फूल-पात, पहाड़, झरनालगायत् अन्य कीटपतङ्गदेखि पशुप्राणी समेतको अन्तर्सम्बन्ध हुन्छ। यसैले प्रकृतिको संरक्षण भनेको एक अर्थमा मानव जाति लगायत पृथ्वीकै संरक्षणको विषय हो। 


प्रकृतिलाई संरक्षण गर्नु हो भने विशेषतः केही आधारभुत कुराहरू छन्, जसलाई लिएर हामीले घोत्लिन आवश्यक छ। र तिनमा पहिलो के हुनसक्छ भने हामीले प्रकृतिलाई प्रदुषित तुल्याउने विषयहरूमाथि जागरूक हुन आवश्यक देखिन्छ। प्रकृति - जल, भूमि र आकाशमा छरिएका दुुषणबाट प्रभावित हुन्छ। जसलाई हामीले जल प्रदूषण, भू-प्रदूषण र वायु प्रदूषण भनेर वर्गीकृत् गरेका छौं। अनि यी प्रदूषणहरूबाट प्रकृतिलाई सोझो प्रभाव परिरहेको छ। 


जल प्रदूषण कति बेला हुन्छ भने जब यी जलश्रोत, कुण्ड वा नदीहरूमा रसायनयुक्त ठोस वा तरल पदार्थहरू विसर्जन गर्ने गरिन्छ। प्लास्टिकनिर्मित उत्पादहरूको सही व्यवस्थापन नगरी, त्यसका त्याज्य शेषांशहरू जथाभावि फ्याँकेपछि वा घरमा प्रयोग गरिएकोबाट उभ्रिएका कुचैलाहरू, नदी, नाला वा खोलामा फ्याँकेकोबाट जल सोझो रूपमा प्रदुषित हुने गर्छन्। जल प्रदूषण भएपछि त्यसबाट खेतीयोग्य जमिन, जलचर, बस्नयोग्य वातावरण आदि सम्पूर्ण प्रभावित हुने गर्दछ।


भू-प्रदूषणका पनि कारणहरू यी नै हुन्। ढुङ्गे युग, तामा युग, फलाम युग भनेजस्तै आजको समयलाई प्लास्टिक युग भन्न सकिन्छ। आज घरमा राखिएका हर तेस्रो थोक प्लास्टिकनिर्मित हुन्छन्। खाना सामाग्री होस् वा लत्ताकपड़ा हर थोक हामीलाई बजारबाट प्लास्टिकका झोलाहरूमा प्याकेट गरिएका रूपमा प्राप्त हुने गर्दछन्, र ती प्लास्टिकहरूलाई पुनर्प्रयोगको व्यवस्था गर्न नसक्दा कुनै न कुनै रूपमा जमिनमा नै ती पुग्ने गरेको हुन्छ। यसरी जमिनमा पुगेका प्लास्टिक थोकहरूले जमिनलाई प्रदुषित तुल्याउने गर्दछन्। त भूप्रदूषणको कारणले कुनकुन अहितकर कामहरू गर्छ भन्ने कुरो सर्वविदित् छ, हामीले चर्चा गर्नुपर्ने विषय भनेको कसरी पृथ्वीलाई प्रदूषणमुक्त बनाउने भन्ने हो। 


आकाश प्रदूषण हुने कुराहरू विभिन्न छन्। पहिलो कुरो हामी यस तथ्यमा स्पष्ट हुनपर्छ कि आकाश भनेको पृथ्वीलाई ढाकेको छत् होइन। यो त्यो खालिठाउँ हो, जोचाहिँ धरतीमा एउटा वस्तुदेखि अर्को वस्तुबिचमा व्याप्त पनि छ, र यो आकाश तत्त्व प्रदूषण कसरी हुन्छ भने त्यसमा हामीले वायु प्रदूषण, ध्वनी प्रदूषण आदिलाई राख्न सक्छौं। वातावरणमा कार्बनडाइअक्साइडको मात्रा बड़नुले वा अक्सीजनको मात्रा घट्नुले जीवजगतलाई सोझो समस्या हुने गर्दछ। वातावरणमा गर्मीको मात्रा बड़नु, जलश्रोतहरू सुक्नुमा पनि कुनै न कुनै रूपमा आकाशतत्त्व प्रभावित हुनुको दुष्परिणाम हो। 


आजको युगमा वायु प्रदूषण हुने विभिन्न कारणहरू छन्। हावालाई दुषित बनाउने हरेक थोक नै यसका कारणहरू हुन्। विभिन्न रासायनिक धुवाँहरू आकाशमा छोड़िनु, कुनै अवसर आयोजनामा आवश्यकताभन्दा धेरै पटेका आदि पड़काउनु, त्यस्तै गरेर अत्यन्तै उँचा आवाजमा ध्वनि सिर्जना गर्नु, (चाहे त्यो गाड़ीमोटरको होस् वा बाजागाजाको) यी सबै कारणहरूले आकाशलाई प्रभावित तुल्याउने गर्दछ। बाहिरी आकाश प्रभावित भएपछि, मानिसको मात्र नभएर पशुपक्षीको भित्री आकाश पनि प्रभावित हुने गर्दछन्। ध्वनिको कतिपय प्रभाव कतिवटा जीवले सहन गर्न सक्दैनन्। त्यसप्रकारको विशेष डेसीबलहरूको ध्वनि पक्षी वा अन्य कुनै निर्दिष्ट प्राणीहरूले सहन गर्न सक्दैनन्, र ती अत्यन्तै प्रभावित हुनेगर्दछन्। जब एउटा प्राणीको उत्सवमा अर्को प्राणीलाई हानि पुग्छ भने त्यस्तो उत्सव प्रकृति स्वयम्को लागि भने हर्षोल्लासपूर्ण हुँदैन। 


प्रकृतिलाई क्षय गर्ने अर्को मुख्य कारण ‘डिफरेस्ट्रशन’ हो। जति हामीले रूखपात र वनजङ्गलमा क्षति गर्दै जान्छौं, त्यति हामी प्रकृतिसितै आफूलाई अर्थात् भनौं आफ्नो भविष्यलाई पनि क्षति पार्दै लैजान्छौं। वनजङ्गलको फँड़ाईले, वातावरणमा गर्मी बड़नु, जलस्रोत र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुनु, श्वास-प्रश्वासको समस्या उत्पन्न हुनु आदि विभिन्न जटील समस्याहरू देखिने गर्दछन्।


त हामीले प्रकृतिको संरक्षणका लागि विभिन्न तरकीबहरू अज्माउन वा अन्माउन सक्छौं। त्यसका निम्ति केही बुँदागत् रूपमा चर्चा यहाँ गरिने प्रयास छ -

1. खोलामा वा जलश्रोतहरूमा घरमा, कलकारखानामा, सार्वजनिक स्थालहरूमा उत्पादित भएका मैलाकुचैला वा त्याज्य पदार्थहरू फाल्ने काम गरिनुहुँदैन। तिनलाई नष्ट गरिने प्रक्रिया र व्यवस्था छुट्टै रूपमा अप्नाइनुपर्छ। 

2. त्यसैगरी जमिनमा पनि प्लास्टिकनिर्मित थोकहरू जथाभावी फ्याँकिनुहुँदैन। सरोकारवाला वा आमसाधारणले आफूलाई आवश्यकता परेकोभन्दा धेरै प्लास्टिक उत्पादन र प्रयोग पनि गर्नुहुँदैन। 

3. उच्चआवाज सिर्जना गरिनुहुँदैन। 

4. वातावरणमा कार्बनडाइअक्साइड, मिथेनजस्ता हानिकारक ग्यासहरू सिर्जना हुने थोक प्रयोग गर्नुहुँदैन।

5. जतिसक्दो वनजङ्गललाई संरक्षण गरिनुपर्छ। कुनै पनि निर्माणनिर्मिति गर्दाहुँदी कम्तीभन्दा कम्ती रूखपातको क्षयक्षति होस् भन्ने कुरोमा ध्यान पुरयाइनुपर्छ। प्रति वर्ष रूखको बिरूवारोपन कार्यक्रमहरू सचेत रूपमा गरिन आवश्यक हुन्छ र ती रोपिएका वरबिरूवालाई नबडुन्जेल संरक्षण गर्ने, हुर्काउने व्यवस्था गरिनुपर्छ। वनजङ्गल संरक्षण वा अभिवृद्धिका लागि एउटा तरकीब के अप्नाउन सकिन्छ भने घरछिमेकमा हरेक सन्तान जन्मँदा उसको नाममा एउटा पौधा जमिनमा लगाउन सकिन्छ, र पौधा रोपिँदा फल वा औषधीय वनस्पती लगाउन सकियो भने त्यसले मानवीय सामाजिक जीवनमा पनि समुन्नतिको काम गर्नेछ।


6. सानाभन्दा साना कीटपतङ्गको संसारलाई संरक्षित गरिनु आवश्यक छ। किनभने ती कुनै न कुनै रूपमा मानवीय जीवनसित अन्तर्सम्बन्धित हुन्छन्। यसैले चियाबगानतिर, खेतीउद्योगतिर कीटनाशक औषधीको अन्धाधुन्ध प्रयोग गरिनुहुँदैन। घाँस माँस्नलाई प्रयोग गरिने नूनमलले वातावरणको हानिकारक कीटलाई मात्र होइन, हितकर कीटपतङ्गलाई पनि मार्ने वा नष्ट गर्ने गर्छ। परिवेशबाट पहिलेको तुलनामा पुतली, घामकिरी, भमरा आदि बिस्तारै लोप हुँदैगएको एउटा कारण मानवीय असचेत कामकर्म पनि हो। 


7. जङ्गल क्षेत्र, पाखा-भित्ताहरूमा केवल मनोरंजनकै निम्ति आगो सल्काइने गरेको देख्न पाइन्छ। यसबाट कैयौं ज्यान नष्ट हुनसक्छन् भन्ने कुरोको हेक्का भने त्यहाँ रहेको हुँदैन। प्रकृतिमा मानवीय आँखाले भ्याउनसक्नेभन्दा साना कीटपतङ्गको जगत पनि हुन्छ। यस्तो आगलागीको घटनाहरूमा उनीहरू समूल नष्ट हुने गर्दछन्। त्यति मात्र नभएर ठूलाठूला आगोमा आँखाले देख्न सकिनेलगायत, खरायो, लोथर्के, जङ्गली मुसो, साथै अन्य स्तनपायी वा अण्डज प्राणी, मसिना जनावारहरू त्यसै मर्ने गर्दछन्। तिनको पनि परिवार हुन्छ, आगलागीमा छटपटिनु उनीहरूको मनमा के बित्दो हो, सो कुरोको पनि मानवीयताको आधारमा परिकल्पना गरिनु आवश्यक हुन्छ। प्रकृति भनेको ईश्वरले सर्वप्राणीको निम्ति प्रदान गर्नुभएको वरदान वा उपहार हो। मानव सचेत र सर्वश्रेष्ट प्राणी हो। सर्वश्रेष्ट प्राणीले सर्वहित्कै निम्ति आग्रह र पहल गरेको प्रकृति स्वयम्ले पनि रूचाउँछिन्। प्रकृति यशस्वी छिन् भने त्यहाँ आध्यात्मिक, आधिभौतिक र आदिदैविक समृद्धि र स्वास्थ्य स्वतः प्रकट हुँदछन्। त्यस्तै गरेर जो जङ्गल मूलनिवासी मानवीय जाति छ, उसले जङ्गलको दैवीय शक्तिलाई बुझेको हुन्छ, र उसले प्रकृतिका यावत तत्त्वको आराधना गर्ने गर्दछ। त्यहीँ नै देवस्थलको प्रतिस्थापना पनि हुन्छन्। 


8. जलश्रोत वा नदी, खोलालाई पवित्र राखिनु मुख्य आवश्यकता हो। अहिलेभोलि पहाड़ी क्षेत्रहरूमा प्रायःप्रायः खोलाहरू मैलायुक्त छन्। पहिले पहिले जुन खोलाहरूमा ईश्वरीय साधना गरिन्थे, आजभोलि ती नै खोलाहरूको किनारमा खड़ा भएका अट्टालिका भवनहरूले आफूमा उत्पादित भएका कुचैलाहरू निर्धक्क फ्याँक्ने गरेको छ, जसको कारणले कंचन पानीको धारा बग्ने खोलाहरू आज ‘डम्पिङ ग्राउण्ड’ मा परिणत भइसकेका छन्। उनीहरू भन्ने गर्छन् - ‘बर्खामा बगाइहाल्छ नि!’ 


तर बर्खाले बगाएर ती मैलाहरू खोलाले तलस्थित मान्छेकै बस्तीमा हुलिदिन्छ कि त समुद्रमा पुरयाइदिन्छ। यसले समुद्रमा जलचर (पानीमा बस्ने माछा-पषु)हरूलाई कतिको दुभार्ग्यपूर्ण जीवन दिएको छ, त्यो कुरो अनुमान गरिएको हुँदैन। खोला मैलिएपछि पिउने पानी स्वच्छ रहने कुरो आउँदैन। पिउने पानी स्वच्छ नभएपछि मानिसको स्वास्थ्य स्वस्थ रहने कुरो आउँदैन। पानीको धारालाई ऐनाजस्तो टल्कने छलछल बग्ने यथावत् राख्न सकियो भने त्यसले मानिसको सौन्दर्यदर्शनलाई पनि पृष्टपोषण गर्ने गर्दछ। 

आजभोलि श्वासप्रश्वासको रोगआदिको कारणले मास्क लगाएर हिँड़नुपर्ने बाध्यता हामी मानव आफैंले सिर्जना गरेको परिवेश हो भन्नमा अतियुक्ति हुँदैन।

9. वातावरणमा रेडियेशन (विकिरण)हरू उत्पादित हुने उपकरणहरूको प्रयोग कमभन्दा कम गरिनुपर्छ। विकिरणले पशुजगतसितै मानव मात्रको आँखा, मानसिक तन्तु, र शरीरका भित्री मुख्य अङ्गहरूलाई सोझोरूपमा दुष्प्रभावित तुल्याउने गर्दछ। विकिरणको प्रभाव वातावरणमा घटाउने सम्बन्धी आधुनिक तकनीकी विज्ञान सचेत छ, र यस शक्तिले पनि मोबाइल आदिबाट उत्पन्न हुने विकिरणलाई न्यून गर्ने सचेत पहल गरिरहेको विभिन्न माध्यमहरूमार्फत थाह पाउन सकिन्छ। आगामी मानवीय टेक्नोलोजीले प्रकृतिको संरक्षणमा पनि हेक्का राखेर आफ्नो विस्तार गरिरहेको बुझ्न सकिन्छ, यो एउटा सुखद पहल मान्न सकिन्छ। त्यसमा हामी आमसाधारणले पनि प्रकृतिको संरक्षणमा आफ्नो स्तरानुसारको पहल गर्न आवश्यक देखिन्छ।


निष्कर्ष:


प्रकृति जीवनश्रोत हुन्। प्रकृतिमा यहाँ विद्यमान हरेक सिङ्गोथोक आउने गर्दछ। तीबाट कुनै एउटा चीज मासिनु प्रकृतिको सम्पत्तिमाथि नै हनन् हो - भन्नसकिन्छ। मानव पनि प्रकृतिकै सम्पत्ति हो। आज मानवीय समाजमा रोग, व्याधि, शोक सुर्ता आदि छन् भने प्रकृति क्षय हुँदैगएकै त्यो एउटा कारणले पनि हो। मानवीय समाजले ‘विकास’ शब्दको सही अर्थ त्यति बेला ग्रहण गरेको हुन्छ, जतिबेला उसको विकासमा कमभन्दा कम विनाश भएको हुन्छ। 


Comments