डायरी लेखन
दैनिक जीवनमा हुने घटनाहरूलाई क्रमबद्ध पाराले लेख्दै जानुलाई ‘डायरी लेखन’ भनिन्छ। नेपालीमा डायरी लेखनलाई ‘दैनन्दिनी’ भनिन्छ। मानिसको जीवनमा दैनिक रूपमा हुने हर्ष, हमर्ष, पीड़ा-सुस्केरा, हाँसो-रोदनका घटनाहरूलाई सुनियोजित ढङ्गद्वारा डायरी लेखन गर्न सकिन्छ। यो भावनाप्रधान हुन्छ अनि व्यक्तिको ‘स्व’सित सम्बन्धित हुन्छ यानिके आफूसित ।
डायरी-लेखनको लागि पहिले त आफूसित एउटा डायरी वा खाता राखिन पर्छ, जोचाहिँ अन्य काममा प्रयोग गरिँदैन अनि आफूलाई मनमा लागेका कुराहरूलाई त्यसमा एकपछि अर्को गर्दै लेखिन पर्छ। डायरीलेखनको निम्ति मुखपृष्ठमा डायरी-लेखकको नाम-ठेगाना अनि दैनिकलेखनमा समय-साल लेखिनुपर्छ।
मानिस एउटा भावसमृद्ध प्राणी हो। अन्य प्राणीको तुलनामा ऊसित अभिव्यक्त गर्नलाई भाषा र भाव हुन्छन्, जोहरूको अभिव्यक्त हुन सकेन भने उसको मानसिक स्वास्थ्यमा पनि प्रभाव पर्छ । कुनै परिस्थितिमा मान्छेले आफ्नो अभिव्यक्तिलाई अरूसम्म राख्न सक्दैनन् तर यस्तो अवस्थामा डायरीलेखन एकदमै राम्रो माध्यम हुन जान्छ, जसमा चाहिँ व्यक्तिले सहज अभिव्यक्ति पाउँदछ।
डायरी लेखन व्यक्तिसित सम्बन्धित भए पनि यो लेखिनुको पनि आफ्नै केही नियमहरू छन् । जस्तै
१. डायरी लेखनमा विवरणहरू छरितो अनि स्पष्ट हुनपर्छ।
२. मूल र विशेष घटनाहरू जो महत्त्वपूर्ण छन्, ती लेखनबाट छुटिनु हुँदैन।
३. घटनासित सम्बन्धित स्थान, विषयसित सम्बन्धित आफ्ना विचारहरू पनि लेखिनुपर्छ।
४. कोही व्यक्तिसित भएको भेट हो भने तिनीसितको कुराकानी, निष्कर्ष , सिख आदि पनि डायरी-लेखनमा उतारिनु पर्छ।
५. डायरी लेख्दा समय, तारिख, महीना, साल आदि पनि लेखिएको छ भने त्यो जीवन्त हुन जान्छ।
६. आफ्नो अभिव्यक्तिमा सरल शैलीसित आलङ्कारिक-प्रभावकारी भाषा अप्नाउने अभ्यास गरिनु पर्छ।
७. डायरी-लेखनको आरम्भ गर्ने हो भने त्यस्तो विशेष समय त हुँदैन, तर नव-वर्षको आरम्भदेखि यसलाई आफ्नो जीवनको एउटा दैनिक नियममा गाभ्न सकिन्छ।
८. डायरी-लेखनको निम्ति रातको विश्रामको समय निर्धारण गर्न सकिन्छ।
Comments
Post a Comment