पूर्वीय काव्य शास्त्र /साहित्यको परिभाषा
संस्कृत भाषाको ‘सहित‘ धातुमा ‘यत्’ प्रत्यय मिलेर साहित्य शब्दको व्युत्पादन भएको छ।
साहित्य के हो? के कुरोलाई साहित्य भन्ने विषयलाई लिएर विभिन्न पूर्वीय अनि आधुनिक आचार्य, विद्वत्जनले माथापच्ची गरेका छन्। पूर्वीय साहित्य दर्शनको परम्परा यशस्वी र लामो छ। यसमा विभिन्न साहित्यका वादहरू छन् र ती वाद - सम्प्रदायका प्रतिस्थापक आचार्यहरूले आ-आफ्ना तरिकाले साहित्यको परिभाषा दिएका छन्। यस्ता प्रमुख वादहरूमा रसवाद, रीतिवाद, अलङ्कारवाद, ध्वनिवाद, वक्रोक्तिवाद आदि रहेका छन्। एवम्रित्ले जो आचार्य जुन सम्प्रदाय वा वादका अनुयायी छन्, तिनको साहित्यसम्बन्धी परिभाषा पनि तिनै समर्थित् वादप्रति अलि ढल्किएको छ। जस्तै कि गुणवादी आचार्यहरूले साहित्यको आत्मा गुणलाई, रीतिवादी आचार्यहरूले रीतिलाई, रसवादी आचार्यहरूले रीतिलाई अनि यसरी नै अन्य आचार्यहरूले साहित्यको आत्मा भिन्न-भिन्न तत्त्वहरूलाई मानेका छन्।
यसको अर्थ के भयो भने - साहित्यको परिभाषा दिने क्रममा साहित्यलाई जोख्ने कसौटी भनेको यो कसरी बनेको छ, र यसको आत्मातत्त्व के हो? भन्ने कुरोमा नै केन्द्रित बनेर विद्वान आचार्यहरूद्वारा विचार विमर्श भएको छ। यद्यपि एउटा कुरो के ध्यातव्य छ भने सम्पूर्ण आचार्यहरूको मत निर्दिष्ट कुनै वादमाथि मात्र केन्द्रित छैन, केही आचार्य-विद्वानहरूद्वारा दिइएको परिभाषा समावेशी र यथोचित न्यायसङ्गत पनि छन्। साहित्यका यस्ता परिभाषा दिने आचार्यहरूमा प्रमुख रूपले विश्वनाथ, जगन्नाथ प्रभृति आचार्यहरूको नाम आउँदछ, जो साहित्यको परिभाषा दिने क्रममा आफू समर्थित वाद वा सम्प्रदायलाई मात्र श्रेयस्कर नभनी सार्वजनिक मूल्यको मत परिभाषाको रूपमा प्रकट गर्न सक्षम बने।
साहित्य ललितकलाकै एउटा प्रकार हो। यसलाई अरू गम्भीर प्रकारले अध्ययन गरिँदै यसको परिभाषा दिने चलन ईश्वीको पाँचौ शताब्दीदेखि प्रारम्भ भएको देखिन्छ। पूर्वीय साहित्य परम्परामा साहित्य’लाई ‘काव्य’ शब्दकै समानार्थी रूपमा परिचय प्रदान गरिएको छ। ईश्वीं छैटौं शताब्दीका आचार्य भामहले आफ्नो ग्रन्थ - ‘काव्यालङ्कार’मा साहित्यको परिभाषा दिँदै - ‘शब्दार्थौ सहितौ काव्यं...’ भनेर साहित्यलाई परिभाषामा बाँध्ने पहिलो प्रयास गरे। अर्थात् शब्द अनि अर्थसहितको काव्य वा साहित्य हो। तर आचार्य भामहले प्रस्तुत गरेको यस परिभाषाले साहित्यको पक्ष र पाटो अनि मूल्य र आत्मलाई सम्पूर्णतः बाँध्न नसकेको भनेर पछिका आचार्यहरूले आलोचना गरेका छन्। आचार्य भामहको परिभाषाअनुसार शब्द र अर्थसहितकोलाई नै काव्य मान्ने हो भने मानवीय ज्ञानानुशासनका सम्पूर्ण पक्षहरू - जस्तै इतिहास, दर्शन, मिमांशा, औषध विज्ञान आदि सबै पनि साहित्य भए। यसरी हेर्दा - सार्थक शब्दहरूको सम्मिलित रूप र सम्पूर्ण भाव वा विचारहरूको एकीकृत् भाव दुईलाई नै साहित्य मानिँदै गरेको स्थिति त्यहाँ भयो र यसबाट साहित्यलाई निर्दिष्ट परिचयात्मक परिभाषा प्राप्त भएन। यद्यपि भामहलाई कतिपय विद्वानबाट सहानुभूति र स्याबासी के कुरोमा प्राप्त भएको छ भने आचार्य भामह अलङ्कारीवादी आचार्य भएका हुनाले यिनी प्रथमपटक शब्दलङ्कार र अर्थालङ्कारको सहभाव र सामन्जस्यबाट उत्पन्न हुने अर्थलाई साहित्य मान्ने पहिलो समन्वयवादी र उदारवादी आचार्य चाहिँ हुन्।
यसरी भामहको साहित्य वा काव्यसम्बन्धी परिभाषा अपूर्ण भए पनि यसबाट साहित्यसम्बन्धी अझ गहिरिएर चिन्तन गर्ने प्रक्रियाको दिशा भने अनावरण भएको थियो।
साहित्यसम्बन्धी विभिन्न आचार्यहरूको मत र परिभाषा
साहित्यलाई माथि भनिएझैं विभिन्न सम्प्रदायका आचार्यहरूले आ-आफ्नो तरिकाले परिभाषित गर्ने कार्य गरे। अलङ्कारवादि सम्प्रदायका आचार्यहरूमा प्रमुख रूपले आचार्य भामह, रूद्रट, दण्डी, वामन आदि पर्दछन्। वामन, रीति-सम्प्रदायका प्रतिष्ठापक हुनाले उनले काव्यको परिभाषा दिने क्रममा भनेका छन् -
“काव्यशब्दोेयं गुणोलङ्कारसंस्कृतयोः शब्दार्थयोर्वर्ततेः।“
अर्थात् - गुण अलङ्कार युक्त दोशले रहित शब्दार्थ नै काव्य वा साहित्य हो। आचार्य वामनले रीतिलाई काव्यात्मा मान्दै जुन काव्यमा गुणयुक्त विशिष्ट पदरचना विद्यमान हुन्छ, सोही साहित्य वा काव्य हो भने। यसमा जो आचार्यहरू रीतिलाई काव्यको आत्म मान्न तयार छैनन्, यथा - आनन्दवर्धन, मम्मट, विश्वनाथ प्रभृति आचार्यहरू। ती आचार्यहरूले वामनको साहित्यसम्बन्धी यस परिभाषालाई खण्डन गरेका छन्। उनीहरूले रीतिलाई काव्यको आत्मा मान्नुको साटो यसलाई विशिष्ट पदरचना अनि काव्यको संघटना भनेका छन्। वामनले गुणलाई साहित्यको नित्य र अलङ्कारलाई अनित्य तत्त्व मान्नु पनि न्यायसङ्गत् नभएको उनीहरूले ठहर गरे।
आचार्य रूद्रटले पनि साहित्यको परिभाषामा शब्द र अर्थ बिचको सहभावलाई नै काव्य वा साहित्य माने। यथा - “ननु षब्दार्थौ काव्यम्।“
काव्यको परिभाषा दिने क्रममा आचार्य मम्मटको नाम प्रमुख रूपले पर्दछ। उनले साहित्यको परिभाषा दिँदै आफ्नो ग्रन्थ - ‘काव्यप्रकाश’मा भनेका छन् -
“तददोशौ शब्दार्थौ सगुणावनलङ्कृती पुनः क्वापी।"
आर्चाय मम्मटको दृष्टिमा गुण-अलङ्कारयुक्त दोषरहित समष्टि रूप काव्य हो। दोषरहित भन्नाले मम्मटको सङ्केत् काव्यको आस्वादनमा बाधा-उत्पन्न नहुनु हो। यिनको विचारमा अलङ्कार पनि साहित्यको अनिवार्य तत्त्व होइन, आवश्यक तत्त्व मात्र हो। रसाभिव्यक्ति हुने शब्दार्थ समष्टि रूप अलङ्काररहित छ भने पनि त्यो साहित्य हो - मम्मटको विचारमा।
आचार्य भामह अनि वामनको साहित्यसम्बन्धी परिभाषामा जस्तै आचार्य मम्मटले दिएका साहित्यको परिभाषालाई पनि जगन्नाथ, विश्वनाथ, जयदेव प्रभृत्ति आचार्यहरूले आलोचना गरेका छन्। उनीहरू शब्दार्थको समष्टि रूपलाई साहित्य मान्न तत्पर छैनन्। आचार्य विश्वनाथले मम्मटद्वारा प्रतिपादित् साहित्यसम्बन्धी मतलाई खण्डन गर्दै गुणलाई शब्दार्थको नभएर, रसको धर्म मानेका छन्। साथै सर्वाङ्ग दोषरहित साहित्य सिर्जन हुन नसक्ने भएकाले अर्थात् जुन कुनै विशिष्ट साहित्यमा पनि एकाधिक दोष भेटिनसक्ने हुनाले मम्मटको परिभाषाअनुसार उत्तमभन्दा उत्तम साहित्य पनि साहित्यको मानदण्डबाट वंछित रहनसक्ने आशङ्का आचार्य विश्वनाथले व्यक्त गरे।
आचार्य वाग्भटले साहित्यको परिभाषा दिने क्रममा भने - “शब्दार्थाै निर्दोषौ सगुणौ प्रायः सालङ्करौ च काव्यम्।“
यिनको विचारमा षब्द र अर्थले युक्त, निर्दोश, गुण अनि प्रायः अलङ्कारले युक्त साहित्य हो।
साहित्यको उदार परिभाशा दिने क्रममा आचार्य जयदेवको नाम आउँछ। उनले भने -
“निर्दोषा लक्षणवती सरीतिर्गुणभूषण
सालङ्काररसानेकवृत्तिर्वाक् काव्यनामभाक्।“
आचार्य जयदेवको यस भनाइअनुसार निर्दोष लक्षण भएको रीति र गुणले युक्त, अलङ्कार, रस, वृत्तिले परिपूर्ण काव्य वा साहित्य हो।
अग्निपुराणअनुसार
“संक्षेपाद् वाक्य मिष्टार्थ व्यवच्छिन्ना पदावली
काव्यम् स्फुटद्लकारम् गुणवद्दोश वर्जितम्।।“
अर्थात् अभिष्टार्थलाई संक्षेपमा मिठासपूर्ण ढङ्गले भनिएको, अलङ्कार गुणसहितको अनि दोषरहित्को पदावली काव्य वा साहित्य हो।
यसरी साहित्यको परिभाषा दिने क्रममा ध्वनिवादी आचार्यहरूको मत अधिक संक्षेप, पूर्ण, नयाँ र मौलिकपनि रहेको भनियो। यसमा प्रमुख रूपले आचार्य विश्वनाथ अनि आचार्य जगनाथको नाम अघि सार्न सकिन्छ।
आचार्य विश्वनाथले साहित्यको परिभाषामा भने - “वाक्यम् रसात्मकम् काव्यम्“
अर्थात् विश्वनाथको विचारमा रसपूर्ण वाक्य काव्य वा साहित्य हो। रसपूर्ण वाक्य भन्नाले आचार्य विश्वनाथको सङ्केत साहित्यले प्रतिपादन गर्ने सत्चितानन्द स्वरूप त्यो आत्मिक अनुभूतिको थियो, जो साहित्य पढ़ेर पाठक वा भावकले अन्तशःमा अनुभूत गर्ने गर्दछन्। यद्यपि उनको परिभाषामा साहित्यको शैली पक्षलाई भन्दा भाव पक्षलाई मात्र प्रधान ठानिएको छ। र यही कारणले गर्दा आचार्य विश्वनाथको पनि साहित्यसम्बन्धी परिभाषा पूर्ण छैन।
आचार्य जगनाथ यस्ता आचार्य हुन् जसद्वारा प्रतिपादित् साहित्यसम्बन्धी मत भने परवर्ती धेरैजना आचार्य विद्वानहरूले अघिल्ला आचार्यहरूका भन्दा अधिक उपयुक्त ठहरयाएका छन्। आचार्य जगनाथको विचारमा साहित्यको परिभाषा छ -
“रमणीयार्थप्रतिपादकः शब्दः काव्यम्।“
आचार्य जगनाथले रमणीय अर्थ प्रतिपादन गर्ने शब्दलाई काव्य भनेर काव्यसम्बन्धित अघिल्ला वादहरू यथा - रस, ध्वनि, रीति, अलङ्कार, वक्रोक्ति प्रदत्त सार, सबैलाई समेट्न सकेको ठहरयाइएको छ।
पूर्वीय आचार्यहरूको साहित्यसम्बन्धित मत् भामहदेखि जगनाथसम्म आइपुग्दा निकै सुस्पष्ट र संश्लिष्ट हुँदै गएको देखिन्छ। नेपाली साहित्यका आशुकवि लक्ष्मीप्रसाद देवकोटाले ‘सजीव अनुभवहरूको कलात्मक प्रकाशन’लाई साहित्य मानेका छन्।
निष्कर्षः
यसरी हेर्दा साहित्यको परिभाषामा भन्न सकिन्छ कि साहित्य त्यो हो जसले अनुभव जन्य कुराहरूलाई प्रभावोत्पादक, रमणीय, आल्हादजन्य र सम्प्रेष्णीय बनाएर अभिव्यक्त गर्दछ। यसले सत्चितानन्द स्वरूपको आस्वादन गराउँछ।
Comments
Post a Comment